बिहीबार लीलादेवी गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव नियुक्त भइन् । मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेसँगै उनी सचिवका रुपमा कुनै मन्त्रालयको जिम्मेवारी नलिई एकै पटक मुख्यसचिव बनेकी छन् ।
Advertisement 1
नेपालको निजामती प्रशासनमा २६ जना मुख्यसचिव बनिसके, तर एक जना पनि महिलाले यो अवसर पाएका थिएनन् । २६ पुस २०५२ मा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेकी गड्तौला ३ कात्तिक २०६३ मा उपसचिव बनेकी थिइन् ।
उनले न्याय सेवामा कानुन अधिकृतमा एक नम्बरमै नाम निकालेकी थिइन् । उपसचिवमा प्रतिस्पर्धा गर्न पाइनन्, फाइल बढुवाबाट उपसचिव बनिन् । सहसचिवको प्रतिस्पर्धामा भने उनले एक पटक फेल भएपनि दोस्रोपटक नाम निकाल्न सफल भइन् । ‘त्यतिबेला फेल भए पनि आज त्यसैकारण उपहार पाएँ’, मुख्यसचिव गड्तौलाले बिहीबार एक सार्वजनिक कार्यक्रममा भनिन् ।
९ माघ २०७० मा सहसचिवमा बढुवा भएकी गड्तौला २७ कात्तिक २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । न्याय सेवाको सचिवका रुपमा उनले आफ्नो चाहानाअनुसार अवसरहरु भने पाइनन् । सहसचिवका रूपमा काम गरेको कानुन मन्त्रालयमा उनले सचिवका रूपमा भने जिम्मेवारी लिएर जान नै पाइनन् ।
प्रतिक्रिया दिनुहोस्